स्वर्गलोकबाट निजी विमान चढेर महादेव पार्वती पृथ्वी आइपुगे । आकाशबाट एउटा देश देख्नासाथ पार्वतीले भनिन् ‘यो अमेरिका हो ।’ करङ मात्र भएका मानिसहरुको देश देख्नासाथ पार्वती चिच्याइन्-’यो सोमालिया हो ।’ महादेवले पार्वतीलाई धाप मार्दै ‘स्याब्बास्, तिमीले ठ्याक्कै चिन्यौ’ भने ।
हजारौं वर्षछि यसरी पृथ्वीलोक घुम्न आए पनि सुनेकै भरमा पृथ्वीका देशहरु पार्वतीले चिनिन् । रगतको आहालमा डुबेको देश देख्नासाथ पार्वती कराईन्-’यो इराक हो ।’ अर्को एउटा देशमा आइपुग्दा पार्वतीका गरगहना सबै चोरि भयो । पार्वतीले तत्कालै भनिन्-’यो भारत हो ।’ आफ्नी पत्नीको सामान्यज्ञान यति तगडा रहेछ भन्ने महादेवले पहिलो पटक थाहा पाए, अनि मख्ख परे ।
त्यहाँबाट उनीहरुको विमान अर्को देश पुग्यो । त्यहाँ पसल बजार, यातायात सबै बन्द थियो । मानिसहरु मारकाट गरिरहेका थिए । यो अचम्मको देश कुन हो भनी पार्वतीले चिन्न सकिनन् । त्यति नै बेला एउटा उग्र जुलुस आयो र महादेव पार्वतीलाई -’तिमीहरुको जात के हो’ भनी सोध्यो । पार्वतीले महादेवको कानमा मुख लगेर भनिन्-’यो नेपाल हो ।’
पार्वतीले नेता चिनिन्
नेपाल देश आइपुगेपछि पार्वतीले यहाँका बडे बडे नेताहरु देख्ने इच्छा गरिन् । अदृष्य बनेर उनीहरु नेता हेर्न पुगे । सबैभन्दा पहिले एकजना मोटे मोटे, दुईवटा आँखीभौंको बीचमा सानो रातो टिका लगाएका, बोल्दा अलि अलि मुख बाङ्गो पार्ने मानिसका अगाडि उनीहरु पुगे । ती मान्छे ‘खुइय खुइय’ गर्दै एकतमासले टोलाउँदै केही योजना बनाउँदै थिए । पार्वतीले चिनिहालिन्-’यी राजा ज्ञानेन्द्र हुन् ।’ महादेवले ‘स्याब्बास् तिमीले ठ्याक्कै चिन्यौ भने ।’
त्यसपछि होंचो होंचो तालुचीण्डे नेताकहाँ पुग्दा उनी कार्यकर्ताहरुलाई यसरी निर्देशन दिदै थिए-’हाम्रो नीति सिती केही छैन । जे गर्दा, जे बोल्दा हामीलाई फाईदा हुन्छ ठाउँ हेरेर त्यही गर्नु ।’ कुरा सुनेपछि पार्वतीले चिनिहालिन्-’यी माधव नेपाल हुन् ।’
महादेवले भुसतिघ्रे युवाहरुको घेरा भएको घरमा पार्वतीलाई पुर्*याए । त्यहाँ एकजना चश्मे नेता कुम हल्लाउँदै मण्डले तथा दरबारिया नेताहरुसँग कानेखुसी गरिरहेका थिए । उनीहरुको कुरा कान थापेर पार्वतीले सुनिन् र पार्वतीले भनिन्-’यी प्रचण्ड हुन् ।’
त्यसपछि उनीहरु एउटा सुनसान कोठामा पुगे । कोठामा बडेमाको कुर्सीमा नर्कट जस्ता पातला ज्यानका एक बृद्ध टाँसिएका थिए । उनले शरीरको सम्पूर्ण शक्ति लगाएर कुर्सी समातेका थिए भने टाउको पनि कुर्सीमै गाडेका थिए । बीच बीचमा उनी ‘मेरी छोरी’ भन्दै बर्बराउँदै थिए । यिनी को हुन् - पार्वतीले चिन्न सकिनन् ।
अदृष्य महादेव अघि सरे ती ब्यक्तिको हात कुर्सीबाट छुटाउन । निकै प्रयाश गरे उनले तर सकेनन् । टाउको उठाएर अनुहार हेर्न खोज्दा ती ब्यक्ति कराए -’ए, छिटो डाक्टर बोलाओ, मेरो हात र टाउकोमा एकदम अप्ठेरो भयो, दुख्यो । कुर्सीबाट हात छुट्लाजस्तो हुँदैछ । डाक्टरलाई चाँडो बोलाओ ।’ ‘यी गिरिजा हुन्’-महादेव बल्ल चिने ।
भगवान दम्पतिलाई जातको मात
धेरै दिनको नेपाल बसाईमा महादेवले सुट टाई लगाउन सिके भने पार्वतीले टाइट पाइन्ट र टिशर्ट लगाउन सिकिन् । उनीहरुले नेपाली चलन अनुसार एउटा जात रोजे र त्यो जातको हितका लागि मर्ने मार्ने कसम पनि खाए अनि स्वदेश अर्थात कैलाश फर्किए । यहि लुगामा उनीहरु कैलाश पुग्दा द्धारपालहरुले चिनेनन् । महादेव सन्किहाले- ‘तिमीहरुको हतियार बिसाओ, क्यान्टोनमेन्टमा हाल ।’ पार्वती कराइन्-’किन भित्र छिर्न नदिने ? बसेर गोलमेच सम्मेलन गरौं ।’ महादेव बोले- ‘लौ आओ, शिखर वार्ता गरौं ।’ पार्वती कराइन्-’संविधानसभाको चुनाव नभई हामी मान्दै मान्दैनौ अनि यहाँ द्धारपाल पनि समावेशी हुनुपर्*यो ।’
यतिन्जेलमा द्धारपाल लगायत कैलाशका सबैले महादेव पार्वतीलाई चिनिसकेका थिए तर उनीहरु ‘समावेशी द्धारपाल नबनाइ भित्र जाँदैनौ भन्न थाले ।’ महादेव पार्वतीको यो हर्कतले कैलाश तथा देवगणमा खैलाबैला मच्चियो । त्यहाँ नारद आइपुगे । नारदसँग महादेवले चन्दा माग्न थाले । उनले महादेव पार्वतीलाई देख्नासाथ कुरा बुझिहाले । उनले भने- ‘महादेव पार्वतीलाई जातको मात लागेको छ । नेपालमा लागेको यो मात छुटाउन नुहाइदिनुपर्छ । किनभने यिनको शरीरमा नेपालको माटो पानी परेको छ ।’
नारदको सल्लाह मुताबिक सबैजनाले मिलेर महादेव पार्वतीलाई पक्रिए । नेपालको लुगा खोलेर राम्रोसँग नुहाईदिए । नुहाउँदा नेपालको माटो पानीले छाड्यो र महादेव पार्वतीको होश खुल्यो । होश खुल्नासाथ उनीहरुले छक्क पर्दै भने- ‘हामीलाई त नेपालमै छौं जस्तो लागेको थियो तर कैलाशमा आइसकेछौं ।’ त्यसपछि महादेव पार्वतीले एक स्वरले घोषणा गरे-’अब कहिल्यै पृथ्वीलोकमा जान्नौं, जानै परे पनि नेपाल देशमा चाहीं कुनै हालतमा जाँदैनौं ।’
Not written by me. Found it somewhere