[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ध्वाँसे (वाँकी अंश)

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 33948 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-16-14 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

Some browser issues with sajha, had to read the comments from my gmail account, thaney and bachata ..thank you for the comments.Fuel tank thanks a lot for the comment (मैले एउटा लामो कमेन्ट रिप्लाइ गरेको थीएँ ,I hope you read that, प्रतिकृया मलाई एक दमै चित्त वुझ्दो लाग्यो, मैले ध्वाँसे एउटा कथाको रुपमा शुरुवात गरे ता पनि अहिले यसलाई उपन्यास वनाउन सकिने सोच लिएको छु, सामान्यतय उपन्यासहरु  सम्पादन गरिनुपर्छ , जुन हाल सम्म ध्वाँसेमा गरिएको छैन। मैले सोच्ने वित्तिकै लेखेर पोष्ट गरिहाल्नाले सो गल्ती भएको हो(म गल्ती स्विकार्छु र सम्पादन गर्दा सो च्याप्टरका केहि अंश वदल्ने पनि छु),अन्य यस्तो गल्तीलाई फेरि औँल्याइदिनु हुनेछ भन्ने पनि आश राखेको छू।
अन्य पढिदिनुहुने ,लाइक गरिदिनुहुने सवैलाई धन्यवाद

for Dhwase part 1 please refer ..
http://sajha.com/sajha/html/index.cfm?threadid=108640

ध्वाँसेमा राजनिती भरिएको छ- थापाकाजी

मेरा बा महेन्द्र राजाका नजिकैका मान्छेमा गनिन्थे। विरेन्द्र राजा पनि गाउँ डुल्न आएका वेला उनी साह्रै खुशी भएका थिए, साक्षात विष्णु गाउँ डुल्न आउने भए भनेर।उनको अनुहार उज्यालो थियो त्यो दिन, म उनको सवैभन्दा कुरा मिल्ने छोरो भएकोले होला मेरो नजिकै आएर भने

 "वुझिस् माइला फूलवारीका राम्रा राम्रा फूल टिपेर राख,भगमान गाउँ आउँदैछन,माला वनाउनुपर्छ।"

संस्कृतमा भनिएको पनि छ नि राजा भनेका त विष्णुका अवतार रे !मैले पनि त्यतिखेर राजा सँग भेट गरेको थिएँ। त्यतिखेर म दश कक्षामा पढ्थेँ, भलिवल पनि खेल्थेँ। मेरो भलिवल खेलको प्रशंसा पनि भएको थियो। विरेन्द्र शिल्डमा मलाई काठमाण्डौ पठाइदिने कुरा समेत भएको थियो।

हाम्रो वंशावलीमा लेखे अनुसार हामी भिमसेन थापाको खलक अरे! अनि हाम्रै पुर्खा मध्ये एकले सुसारेलाई भगाएपछि हामीलाई उपत्यका निकाला गरिएको अरे!पछि राजाले पुर्वको रखवाली गरेवापत त्यो गाउँको जंगल हाम्रा जिजुवुवालाई दिएका अरे! त्यसपछि जिजुवुवाले त्यो जंगल फडानी गरेर गाउँ वसाएका ,पहाडवाट आफूलाई मन पर्ने र काम लाग्ने मान्छे राखेर !हाम्रो हजुरवुवा त्यहि भएर यो गाउँको राजा चाहिँ म हुँ भनेर भन्नुहुन्थ्यो म सानो हुँदा । म पनि आफुलाई राजकुमार जस्तो लाग्थ्यो। राजाको फोटोमा आफ्नो टाउको हाल्दा कस्तो हुन्छ कल्पना गर्थेँ। तर त्यो श्रीपेँचमा मेरो ठूलो टाउको अट्दैन कि भन्ने मलाई डर लाग्थ्यो।

हाम्रो हजुरवुवा घोडामा चढेर गाउँ डुल्नु हुन्थ्यो अरे! हाम्रो घरमा काम गर्ने मात्रै करिव पचास मान्छे थिए अरे । अनि काठको सानो तिनो दरवार जस्तै घर! म घोडालाई सुसारेहरुले चना खाएको हेरीरहन्थे। हाम्रो घरको पछिल्तिर घोडा वान्ने तवेला पनि वनाइएको थियो। सानोमा आसपास खेल्दा हामी त्यहिँ लुक्थ्यौँ। नचिनेको मान्छेलाई घोडाले लात्तले हान्छ । त्यहि भएर साथीहरु घोडाको नजिकै जान डराउँथे। मेरो लागि सवैभन्दा प्यारो त्यो घोडाको तवेला र मेरो घर! तर त्यो पछि पन्चेको घर भनेर जलाइयो।मैले रुन्चे आँखाले त्यो घर जलेको हेरेँ।म त्यतिखेर सकृय राजनिति मै थिएँ। स्थानिय चुनावमा पनि मैले गा.वि.स अध्यक्ष जितेको थिएँ त्यो हुनाले गाउँलेको म प्रति आदर र सहानुभुति थियो भन्ने त मलाई थाहा थियो। तर शक्ती र वन्दुक को अघि सवै चुप हुन्छन्। म पनि चुप वस्नु पर्यो । हामी त्यसपछि उपत्यका छिर्यौँ। राजाले हामीलाई उपत्यका वाट निकाले,गाउँकाले हामीलाई गाउँवाट! तर पनि गाउँमा जव म फर्के , मेरो रवाफ सकिएको रहेनछ भन्ने पनि वुझेँ। संसार आखिरमा पैसै वाट चलेको त रहेछ। मैले काठमाण्डौ आएर शुरु गरेको चामलको व्यापार फस्टाएपछि मैले काठमाण्डौमा पनि घर वनाएँ ।गाउँको घरमा शूरुमा त पार्टिका झण्डा गाडेर हामीलाई आउन नदेलान नै जस्तो वनेको थियो। तर पछि उनीहरुले छोडिदिए। म गाउँ गएको वेला घरमै वस्न थालेँ। टिन नयाँ लगाएँ । काठहरुमा रंग लगाएँ। त्यो घर फेरि चिटिक्कको देखियो।

ध्वाँसेको घर भने मेरो भन्दा पाँच मिनट जति टाढा खेतवारीको विचमा थियो। उसका वुवा पहिला हाम्रै खेतमा हलीको काम गर्थे। पछि सापटी लिएर तिनी विदेश तिर लागे। रिन तिर्न पछि सम्म पनि सकेका थिएनन्। त्यसैविचमा ध्वाँसे पनि पार्टीमा लाग्यो। उसमा पनि वन्दुकको शक्ती आयो। हाम्रो रिन नतिरे पनि हुने भयो। हामीले खासै वास्ता पनि गरेनौँ। ज्यान भए पैसा त पछि पनि कमाइहालीन्छ नि जस्तो सोच आयो भनौँ दिमागमा !

युद्द विराम पछि चुनाव को गाउँ भरी तातो छाएको थियो। नयाँ पार्टीमा गाउँका धेरै मान्छे पसेको मैले पनि गाईँगुईँ सुनीनै राखेको थिएँ। उनीहरु सँग अझै हतियार छन् भन्ने हल्ला पनि गाउँभरी छ्यापछ्याप्ती थियो। त्यहि भएर पनि खुलेर राजनितिमा आउन मैले आँट भने गरिसकेको थिइन।हुन त राजनितिले मलाई के नै दिएको थियो र ! म गा.वि.स अध्यक्ष हुँदा वनाएको चोकको महेन्द्रको सालिक यहि पालाको आन्दोलनमा भत्काइदिएका थिए आन्दोलन कारीले । साह्रै सजिलो गरी फुट्यो त्यो सालिक भन्थे गाउँकाले ! मैले सुनेको नसुन्यै वनाइदिएँ। त्यतिखेर हामीले त्यो सालिकमा त्यतिवेलाको विस हजार कमाएका थियौँ रातारात गरेर वनाएको सालिकमा हामीले भित्र फलामका डण्डी कम गरेको गुनासो झन्न कसैको आएन। एक तरिकाले ठिकै पनि भयो अव सालिक ढल्यो। मेरो भ्रष्टाचारको प्रमाण पनि! आखिर महेन्द्रले मलाई अहिले विउँझिएर जागिरमा लाइदिने हैनन् क्यारे!

************ ************** ************ **************** ************* ********

साँझ झिमिक्क परिसकेको थियो। मेरो घरमा सोलार जोडेपछि लोडशेडिंगको खासै फरक पर्न छोडेको छ। आँगनमा वसेर म हुक्का वनाउँदै थिएँ।

"काका घर मै हो ?" परवाट आवाज आयो। नचिनेको आवाज ! मैले आवाज तिर आँखा दौडाएँ। करिव तिसको वलियो केटो !

"म ध्वाँसे क्या !" ध्वाँसेले आफ्नो परिचय दियो। मेरो मनमा ढ्वाँग्रो ठोक्यो। हुन त उनीहरु युद्द विराममा छन् । तर उसले मास्टरलाई रेटेरै मार्यो भन्ने गाउँमा हल्ला थियो। त्यस्ता नरपिसाचको के भर र ! फेरि उसको र मेरो कहिलेदेखि यो काकाको सम्वन्ध लाग्यो? मलाई पनि थाहा छैन यो कुरा त !

"वस न त !" मैले छेवैको खाली कुर्सी देखाएँ।

"काका सँग एउटा सल्लाह गर्नु छ !" उसले आफ्नो कपाल कन्याउँदै भन्यो।

"भन न !" मैले सुस्तरी जवाफ फर्काएँ। उ मेरो हुक्का हेरिराख्यो। त्यो हुक्का मेरो हजुरवुवाको पालाको। तल भुइँमा चाँदिको जलप लाको छ। माथी साँपको नक्सा कुँदेको छ। मेरो हजुरवुवाको शौख देखेर म दंग पर्थेँ यो हुक्का देख्दा! हामीले जल्दै गरेको घरमा धेरै मेहेनत गरेर यो जोगाएका थियौँ। हजुरवुवाको ठूलो तस्विर भने जोगाउन सकिएन। उनको आधा जिउ जलेको फोटो मेरो भित्तामा अझै छ।

"चुनाव नजिँकिँदै छ, यसपाली कतापट्टी लाग्ने विचार गर्नुभको छ ?" उसले मेरो आँखा नियाल्दै प्रश्न राख्यो।

म चुप थिएँ। खै के भनुम् ? नखाउँ त दिन भरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भन्थे वुढापाकाले ! उसका प्रश्नहरु मलाई पनि निल्नु न ओकल्नु भए।

"हेर्नुस काका,पन्चेहरुलाई गाउँ भित्रिन दिनु हुँदैन भनेर ठूलो कुरा भको थियो, हाम्रो पार्टी कमिटी भित्र। मैले थापा काका भनेका विकास प्रेमी मान्छे हुन् ! उनले समय अनुसार परिवर्तन हुन जानेका छन् भनेर तँपाइको कुरा गरेँ!"

उसले कुरा कता घुमाइरहेको थियो मैले वुझ्न सकिन त्यहि भएर उ वोली मात्रै रह्यो म सुनी मात्रै रहेँ।

"हामी सँग गाउँको ठूलो युवा जमात छ, तर वुढा वुढी हरुलाई अझै पुरानो धंगधंगीले छोडेको छैन , यस्तो तालले गाउँको समाजको विकास पनि हुँदैन ! कि कसो त काका !"

सावित्रीले चिया लिएर आइ । मेरो खेतमा काम गर्नेकी छोरी, मैले घरको काम गर भनेर राखेको छु । उसले सावित्रीलाई पिलिक्क हेर्दै चिया लियो।

"यी वुइनी चाहिँ को नि ?"उसका आँखा वलिहाले। मोरोलाई केटी देख्नै हुँदैन। त्यो साहिँली मगर्नी सँगको हल्ला मैले खुवै सुनेको छु। विरे की छोरी शान्ती सँग पनि यसको लसपस थियो रे ! त्यसको त दश दिन अघी विहे भयो। त्यसलाई सम्झेर यसले रातभरी जाँड खाएर हल्ला गर्यो पनि भन्थे गाउँका केटा !

"सावित्री, पर्शुरामकी छोरी, यहाँ काकीलाई भान्सामा सघाउँछे ,स्कुल पनि पढ्छे !"

"म के भन्दै थिएँ भने नी काका, तँपाइलाई नयाँ पार्टी खुवै फाप्छ , वुढापाका तँपाइले भनेको मान्छन् पनि , हाम्रो पार्टीमा प्रवेश गर्नुस् ! गाउँमा वस्न सहज पनि हुन्छ तँपाइलाई ! नेतृत्व गर्न जानेको मान्छे,विकास वुझेको मान्छे!"

उसले मलाई खुल्ला प्रस्ताव राख्यो। म अकमक्क परेँ।

"के सोच्नु भको काका ?" उसले मेरो आँखा नियाल्दै प्रश्न राख्यो । " हेर्नु पार्टीमा राम्रो ठाउँ दिलाउने जिम्मा मेरो भयो, फेरि यो क्रान्तिवाट जन्मेको पार्टी हो, जहिल्यै अघि वढ्छ, कति समात्नुहुन्छ ति दंगदंग्ती गनाइसकेका पार्टीहरु , यसपाली खुलेर लाग्न पनि भ्याउनु भएको छैन पुरानो पार्टीमा! हेर्नुस् त तिनीहरुका संगठन,हामीले उहिल्यै जरा काटीसक्यौँ, को छन् तिनीहरुको प्रचार गर्दै हिँड्ने गाउँमा ? हामी सँग आउनुभयो भने जित पक्का छ अनि अहिल्यै हामी सँग आउनुभयो भने घात गरे जस्तो पनि देखिँदैन !"

म चुप नै लागि रहेँ।उसले चिया सिध्यायो। सावित्री गिलास उठाउन आई। उ झुक्दा उसको छातीलाई मज्जाले नियाल्यो ध्वाँसेले।

"ल लागेँ काका अव म ! मैले भनेको वारेमा सोच्नु ,मैले पर्सी सम्म उत्तर दिनु छ, त्यसपछि लाग्छु म पनि राजधानी तिर !" उ उठ्यो।

उ हिँडिसकेपछि, मैले धेरै वेर कुरा खेलाएँ। कुरा ठिकै लाग्यो। मेरो रवाफ गाउँमा फर्काउने यो राम्रो अवसर हो। ध्वाँसेले राजनिती जानेको रहेछ वा भनौँ ध्वाँसेमा राजनिति भरिएको रहेछ।

 

 



 
Posted on 05-16-14 11:24 AM     [Snapshot: 27]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा पनि आउने बित्तिकै पढें | मन पर्यो | फुच्चे साथी , तिमीमा लेख्ने कला अथाह छ | यस्तै यस्तै लेख्दै जाउ | तिम्रो उपन्यास पाईरेट नगरी किनेर नै पढ्ने छु , बाचा भयो |
-------------------------------------------
कथाको शिरमा लेखिएको कमेन्टको बारेमा :
Thank you very much for acknowledging my comment. There are many writers who only acknowledge the positive comments and ignore if it deviates just a little from the straight praise. I think constructive comment sharpens even already sharp pen and I try at least.
तिमीले भनेको जस्तै त्यसलाई मैले गल्ती मान्दिन | त्यो त एउटा सानो कमजोरी मात्र हो, सच्च्याईएको खण्डमा सार्है नै मिठो बन्छ कथा | साँहिली पात्रले त्यस्तो वोझिलो बोल्न नहुने होइन र उमेर ढल्किंदैमा वा दुख पर्दैमा वोझिलो बोल्ने भन्ने पनि छैन | कथाले पात्रको बिकाश कसरी भै राखेको छ देखाउंछ र त्यसै अनुसारको बोली बोल्छ | हाम्रै ध्वाँसेलाई हेरौं न | पहिले शान्तीसंग के बोल्ने पनि थाहा थिएन, मास्टर संग आशिकी फिल्मको कुरा गर्थ्यो तर कथाले पात्रको कसरी बिकाश भै राखेको छ देखाएको छ र आज थापाकाजी संग त्यस्तो गर्हूङ्गो कुरा गरेर गयो |
मलाई लागेका कुराहरु बाँकी भागहरुमा पनि भन्ने नै छु | ल त साथी, लेख्दै गर |

Last edited: 16-May-14 11:54 AM

 
Posted on 05-20-14 10:21 AM     [Snapshot: 247]     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

Thank you fuel tank , अन्य पढिदिनुहुने लाइक गरिदिनुहुने सवैलाई धन्यवाद...

चुनावको बेला अनि ध्वाँसेको ट्राजिडी- वुधलाल राजवंशी

 

गाउँमा सानो खरको छानो भएको घर, तर लिपपोत गरेर हाम्री आमा चिटिक्क वनाउनुहुन्थ्यो घरलाई।हामी कहिले देखि यहाँ थियौँ धेरैलाई थाहा छैन। हाम्रो वाहुन क्षेत्रीको जस्तो वंशावली नभएर पनि होला!झुरुप्प परेको वस्तीमा हाम्रा करिव चालिस घर थिए यो गाउँमा। करिव पाँच छ घरको एउटै आगन,एउटा पानी तान्ने कल, घरै पिछेका दुई चारवटा हाँसहरु।हाँस पाल्ने पोखरी पनि हाम्रो घर पछाडीपट्टी हाम्रो हजुरवुवाहरुले वनाउनु भएको थियो। हाम्रा हजुरवुवाहरु राम्ररी नेपाली पनि वुझ्दैन थिए। हामी भने स्कुलका किताव नेपालीमैँ पढ्नु पर्ने भएकोले वुझ्थ्यौँ। हुन त मैले स्कुल सात किलासमैँ छोडेँ तर पनि नेपाली भने मेरो राम्रो थियो।

स्कुल छोडेपछि म सामान वारपारको व्यापारमा लागेँ।ढाट मेचीनदिमा थियो, अनि छोटी भन्सारहरु थीए।विचमा त मेची नदि कटेपछि सामान त्यसै वारपार भइ हाल्थ्यो।पैसा कमाउने सजिलो माध्यम थियो त्यो! थोरै पढेको मान्छेलाई रोजि रोटीको राम्रो प्रवन्ध वन्यो।त्यहि वाटो गरेर चोरी गरेका गाई गोरुहरु पनि ओसार पसार हुन्थे। मैले सुनेको ति गाइ गोरुहरु इन्डियाको पशु चोरी वेचविखन गर्न वनेको ठूलो चोर वजार मा विक्री हुन्थे अरे!

मेचीको सिमा फेरि रहन्थ्यो। राता रात दशगजाका पिलरहरु सर्थे। हाम्रो आफ्नै आँखाले देखेका छौँ। न सरकार वोल्थ्यो, न प्रहरी न प्रशासन। कति निरिह छौँ हामी जस्तो लाग्थ्यो।विस्तारै विस्तारै गाउँमा समानताको नारा गुन्जियो। अव पहिचान सहितको संघियता, आदिवासीहरुलाई प्राथमिकता, समानता दिनुपर्ने जस्ता नारा लिएर युद्द शुरु भयो। ति सिद्दान्तहरुमा यस्तो चमक थियो कि , पुराना सवै पार्टी काला लाग्न थाले, राजा त भित्रवाट धमिरा लागेको रुख जस्तो ढल्न नै आँटेका थिए।म पनि युद्दमा नै लागेँ। किनकी वाहुनवाद समाजमा हावी भएर धनी र गरिव विचको खाडल झन झन वढ्दै गएको मैले आँफैले महसुस गरे। वाहुनहरु पछि यो गाउँमा आएर आफू गाउँको राजा भए जस्तो गरेर हैकम चलाउँथे भने हामी पुर्खौँ देखी वसेकाहरु भने उनीहरुको कुरामा हो मा हो मिलाउँथ्यौ।म युद्दमा लागि सकेपछि यो कुरा हाम्रो समुदायमा वुझाउन तिर लागेँ। जरा नभएका अरु पार्टीहरु र चुरो नभएका राजाको शासन, जनतामा छाप छोड्ने हामीले राम्रो अवसर पायौँ।

ध्वाँसे सँग मेरो भेट युद्दको क्रममा नै भएको थियो। ध्वाँसे यस क्षेत्रमा प्रभाव जमाउन सफल मान्छे हो भन्ने मैले त्यहिँ पत्ता लगाएँ।उसको र मेरो भेट विच विचमा पनि भइ नै रह्यो।सामन्ती सोचकै कोखवाट जन्मिएको भएता पनि उसमा क्रान्तीको ओज थियो। उ जहिल्यै रापिलो थियो त्यसैले गाउँका मान्छे उसको पछि पनि लाग्थे।म ध्वाँसे भन्दा करिव पन्ध्र वर्षले जेठो थिएँ, राजनितिमा पनि परिपक्व । चुनाव ताका पार्टीमा यो क्षेत्रमा कसलाई टिकट दिने भनेर धेरै चर्का चर्की भयो। हर्क वस्नेतलाई दिने कुरामा हामीले ठूलो विरोध गर्यौँ,हामीले हाम्रो पहिचानको कुरा राख्यौँ । धेरै सोचविचार पछि पार्टीले मलाई टिकट दिने भयो।टिकट पक्का भएपछि ध्वाँसेले मेरो छेउमा आएर भन्यो

"चिन्ता नलेउ दाई , वाहुन क्षेत्रीको भोट हामी तिरै झर्छ। मलाई थाहा छ ती भोटहरुको चावी !"

उसले चुरोट निभाएर ठुटोलाई यसरी कुल्चियो मानौँ ठूटोको घाँटी न्याकेर उ मार्न चाहन्छ। चुनाव साम, दाम ,दण्ड ,भेद सवै लगाएर भए पनि जितिनु पर्छ। म सँग ध्वाँसे थियो र ध्वाँसे ति सवै जान्दथ्यो।

************** **************** ***************** *************** ***************

त्यो रात मलाई भट्टिमा नै जान मन थिएन । म लुकिछिपी त्यहाँ गएको थिएँ । आफ्नो अनुहार नराम्रा ठाउँहरुमा नदेखाउनु पनि मेरो आवश्यकता थियो चुनावको लागि। ध्वाँसे भने मलाई पर्खिरहेको थियो त्यहिँ।

"दाइ तिमी जहाँ पनि ढिलो गर्छौँ, यस्तो सुस्त नेता मैले कहिँ देखिन !" ध्वाँसे म ढिलो गएको मा थोरै रिसायो।मैले प्रतिकृया जनाइन। मलाई वोकेर आउने मोटर साइकलवाला वाहिर नै वस्न खोज्दै थीयो।

"भित्रै आइज न !" मैले उसलाई पनि भित्रै वोलाएँ।

"के खान्छस् त ?" मैले ध्वाँसेलाई सोधेँ।

"आज त खाने हैन दाइ पिउने हो !" उ गम्भिर थियो। म चुप थिएँ । हामी विचको मौनता टेवलको गिलासको ठक्करले मात्र टुटेको थियो।

"हैन आज अचानक यस्तो वेला तँलाई पिउने सुर कहाँ वाट चढ्यो म सँग !"

मैले पहिलो चुस्कीमैँ प्रश्न राखेँ। न ध्वाँसे सँधै पिउँथ्यो, न म सँधै पिउँथे। तर ध्वाँसेले आज फर्माइस गरेको थियो। म हाम्रै कोहि कार्यकर्ताहरुलाई खुशी पार्नु पर्ने होला भन्ने सोचमा आएको थिएँ । तर यहाँ उ एक्लै थियो।

"कहिलेकाहिँ नपिए वाँच्न गाह्रो हुन्छ दाइ!"

"ट्राजिडी पर्यो कि के हो ?" मैले ठट्टा गरेँ । उसले पुलुक्क मेरो मुखमा हेर्यो।

"आज विहे छ मोरीको !तिमी मेरो अनुहार कति राम्ररी पढ्छौ है दाइ ?"

मेरो ठट्टा वास्तविकतै रहेछ। म ध्वाँसेलाई त चट्टान नै ठान्थेँ। तर पहाड पनि रसाउँछ नेपालमा !एक छिन त के वोल्ने के वोल्ने पत्तै पाइन।

"तँ जस्तो लक्का जवान,पार्टीमा यति रवाफ भको ,पाइहाल्छस् नी कोहि केटी !किन घोत्लिएर वस्छस् त ?"

"नापियो !" उसले आँफैले आँफैलाई लोपार्यो।छेवैको मान्छे त्यो देखेर हाँस्यो। ध्वाँसेले आँखा तरेर उसलाई हेरेपछि भने त्यो मान्छेको मुस्कान हरायो।उ आफ्नो गिलासमा नै व्यस्त भयो। तर ध्वाँसेले अझै आँखा तर्न छोडेन।

"यहाँ झगडा नगर है भाइ !" मलाई आफ्नो इमेज नै विग्रिने हो कि भन्ने डर पनि लागेर आयो। उ एक छिन चुप वस्यो। मान्छे जव चुप हुन्छ मनमा के चलेको पत्तै लाग्दैन। तिँ माथी कालो कालो अनुहारको ध्वाँसे अनि लोडशेडिंग। हुन त म पनि गोरो छैन।म रातो वर्ण भएकोले मेरो नाममा लाल थपिएको अरे । वुधवार जन्मेकोले वुध अनि रातो वर्णले लाल !

"मैले उसको लागि के के गरिन दाइ, मोरीले सवै विर्सी !"

"माया गर्नु एउटा कुरा हो भाइ देखाउन जान्नु अर्को कुरा !" म अचानक दार्शनिक वनेँ। मोरो पहेँलो झोल जहिले जहिले भित्र छिर्छ, हजारौँ दर्शन वाहिर निकाल्छ।

"पहिला स्कुल पढ्दा पनि सरसँग सल्केकी भनेर खुवै हल्ला थियो, मै अन्धो थिएँ उसको मायामा !" उसले एकै घुट्कीमा गिलास रित्यायो।मुख विगार्यो।मुख रक्सीले विग्रेको वा त्यो केटीको सम्झनाले मैले छुट्याउन सकिन।

उसले शान्तीको कुरा गरेको मैले पत्तो पाएँ। विहेमा मलाई पनि बोलाएका थीएँ , गाउँको प्रभावशाली नेता भएको हैसियतले । म पनि त्यहिँ गएर सवै सँग भेटघाट गरेको थिएँ। अनि हाम्रो विहामा फजुल खर्च यति धेरै गरिनुहुन्न भन्ने विषयमा मैले त्यहिँ दुई चार जना सँग वहस पनि गरेको थिएँ। केटो सानो दारको , इन्जिनियर रहेछ। ध्वाँसेको र शान्तीको माया को कुरा पनि मैले सुनेको थिएँ। पछि शान्तीले ध्वाँसे सँग भेट्न पनि मानिन अरे भन्ने पनि मैले सुनेको थिएँ। केटीहरु यस्तै हुन्छन् राम्रो केटा छानी छानी हिँड्छन् लुगा छानेजस्तो।यो भने अव रक्सीमै डुव्ला जस्तो छ।

"अव के देवदास नै हुने हो त ?" मैले उसलाई हेर्दै प्रश्न राखेँ।

उ चुप भयो एकछिन। हाललाई त्यो प्रश्नको उत्तर उ सँग छैन ।

**************** ******************* ***************** *************** **********

"अनि थापाकाजी सँग केहि कुरा भयो त ?" मैले प्रसंग वदलेको थिएँ। थापाकाजीलाई पार्टीमा राख्नुपर्ने सुझाव ध्वाँसेले नै दिएको थियो। त्यो कुराले थोरै हल्लीखल्ली पनि भएको थियो। किनकी उ राजावादी भएको कुरा त गाउँ भरी विदितै कुरा थियो। तर शक्ती सन्तुलन र भोट व्यांक कलेक्सन को लागि थापाकाजी हामीसँग हुनु चुनावी नजरले आवश्यक रहेको मैले पनि वुझेको थिएँ। ध्वाँसेले हाँस्दै एउटा हिन्दी डाइलग पनि हानेको थियो " वक्त आने पर गधेको भी अपना वाप वनाना पड्ता है साथिहरु !" । मलाई मनमनै पोलेको थियो अव हामी पनि गधाकै वच्चा हुने भयौँ भनेर !

"जानुपर्छ दाइ , तिमी हतार गर्छौ के वढी !" उसले फेरि एक घुट्को लायो। कहिले मलाई सुस्त भन्छ ,कहिले हतार वढी गर्ने ! उसका त कुरै एक आपसमा वाझ्छन्।

"वुझ्यौ दाइ ,मैले कस्ता कस्ता केटी सँग रमाइलो गरेँ, तर त्यो र म चियावारीमा एक्लै हुँदा समेत छुन पनि दिइन , मैले केहि भनिन सहेर वसिरहेँ , यो मेरै हो, हतार गर्नु हुन्न भनेर । केटीको मामलो गडवड हुँदो रहेछ। सकेसम्म हतार गर्नु पर्ने रहेछ। नत्र हेरेको हेर्यै भइने रहेछ। "

उ फेरि आफ्नै टपिक्समा फर्कियो।कसलाई के को धन्दा कसलाई के को धन्दा घरज्वाईँलाई खानकै धन्दा भनेजस्तो। चुनावको चटारो विचमा ध्वाँसेको ट्राजिडीले मलाई ठुलै असर पार्ने पो हो की , मलाई डर लाग्न थालेको छ।आखिर मा ध्वाँसे मेरो दाहिने हात हो,उसले यो गाउँ चिनेको पनि छ र कसलाई कसरी फकाउने मनाउने हो सवै थाहा छ।

"हेर दाई मेरा पाखुरा हेर !" उसले आफ्नो हात खुम्च्याएर शर्ट माथी सम्म पुर्याएर आफ्नो पाखुरा देखाएको थियो। म उसले अह्राए वमोजिम उसको पाखुरा हेरिरहेँ। "चाहेँ भने त्यसको वुढोको दाँत झार्देर,जिउ कर्याक कुरुक पारेर हस्पिटलमा भर्ना गर्दिन सक्छु! मोरो इन्जिनियर रे, सुकुटे छ अरे, शान्तीको सामुन्नेमा त फिस्टो देखिन्छ अरे !कहाँ सलमान खान छोडेर कादर खान समाती मोरीले !"

चुनावको टाइममा यस्तो नगर भनेर भन्न मन लागेको थियो। तर के सुनोस् उसले। भोली यो सँग फेरि कुरा गर्नुपर्ला मनमनैँ सोच वनाएँ मैले। मान्छे मायामा पनि छ ,अनि मातेको पनि छ यत्तिखेर त उसले कसैले भनेको टेर्दैन।

"अव नथप, घर जानुपर्छ, पर्खि तँलाई घर लैजाने मान्छे खोज्छु !"

"वैरागीको जहाँ रात त्यहिँ घर दाइ ! एउटा लास्ट पेग थपौँ न !"

"छोड्दे न , ह्या !"

"तिमीलाई चुनावमा म चाहिन्छ कि चाहिन्न ?भन दाइ एक पेगको लोभ गर्छौ की चुनावको ?" उसले मलाई घुर्की लायो।

" ल ल खा खा !" माया गर्यो भने टाउको टेक्छन मोराहरु ।

"आज तिम्रैमा जान्छु म, जाँड खाएर गयो भने वाउ रिसाउँछन!"

"साहिँलीको मा जा न त !" उसकी अर्की आइटम छ साहीँली मगर्नी । यसको सवैभन्दा ठूलो खरावी नै यहि केटी भनेपछि दुई खुट्टा टेकेको भए पनि पुग्छ।

"साहिँली त वाउको पनि वाउ ! परैवाट गन्हाएको थाहा पाउँछे। फेरि अव त वुढी पनि भइछे, यसपाली त कस्तो वुढी लागी।"

"मोरो चुस्न पाउन्जेल चुसिस आँप ,अहिले कोयो खल्लो छ भन्छ !"

"चुस्ने त आँपनै हो नि दाइ, कोयो चुस्ने, खोयो खाने गर्न थाल्यो भने त कहाँ जीउ लाग्छ र !"

उ खिस्स हाँस्यो।

अन्तिम पेग टुंग्याए पछि मैले पल्याक पुलुक यता उता हेरेँ मान्छे त्यति भिँड छैनन् । घडी हेरेँ साढे दश वजेको थियो।एउटा भेन फोन गरेर मगाएँ।आज ध्वाँसे मेरैमा सुत्न जान्छ अरे! जड्याहाँ वोकेर जाँदा वुढी रिसाउली कि भन्ने अर्को पिर छ।




 
Posted on 05-20-14 10:49 AM     [Snapshot: 269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हराएको माया भेटिएको विछोड- शान्ती

काठमाण्डौमा पानी सिमसिम पर्दै थियो। पानी परेपछि धेरै नै हिलो हुन्छ काठमाण्डौ। त्यसमाथी माइक्रो, ट्याम्पो, ट्याक्सी ,वाइक........ म पैदल हिँड्नेलाई कतिखेर कसले पानी छेपिदेला भन्ने पिर। अफिसको ड्रेस धुन पानी नभएर अफ्ठ्यारो छ कोठामा। फेरि लगाएको यो ड्रेस पनि विग्रियो भने त गाह्रो नै हुन्छ। मेरो छाता पनि हिजो वानेश्वरको छाता वनाउने ठाउँमा वनाउँछु भन्ने सोचेकी थिएँ। मोराहरु पानी परेकाले वसेनछन्। कस्तो अचम्म छाता वनाउनेहरु पानी पर्दा ओत लाग्ने ठाउँ पाउन्नन् , मैले मनमनै यहि सोचेकी थिए। मेरो चप्पल पनि हिलो उछिट्याउँछ छिटो छिटो हिँड्दा त्यसैले म विस्तारै विस्तारै नै हिँड्दैथिएँ। कसैले मलाई पछाडीवाट कोट्याए जस्तो लाग्यो। फर्केर हेर्दा पछाडी ध्वाँसे उभिएको थियो।

"चिनीनस् कि के हो ?"

"चिनेँ !" मैले सुस्तरी उत्तर फर्काएँ। उसको त स्पर्श स्पर्श चिन्छु म। त्यहि छाति मा अडेस लागेर कति घण्टा काटेकी छु मैले ।

"कता हो तेरो वसाई !"

"अलि पर हो, थापागाउँ तिर !" म उसलाई किन मेरो वसाइ देखाउँ । म परिवार भएकी मान्छे, उ ठेगान नभएको मान्छे । मेरै घरमा आयो भने के भनेर चिनाउँ उसलाई । उसलाई देख्ने वित्तिकै मन चंगा भएर अतितको आकाशमा उड्दै छ आज। म तलवाट फर्काउन खोज्दैछु मनलाई आजको समयमा, यथार्थको धरातलमा।

"विजी छेस् ?"

के उत्तर दिउँ उसलाई म ?

"अलि अलि !" मैले संक्षेपमैँ उत्तर फर्काएँ।

"त सँग कुरा गर्न मन थियो, गाउँमा पनि भेट भएन !"

मेरो विहाको दिन उसले रक्सी खाएर धेरै हल्ला गरेको थियो भन्ने मैले सुनेकी थीएँ।तर सवैको आफ्नै आफ्नै भविष्य हुन्छन्। मान्छेले पतिमा कहिल्यै हत्यारा खोज्दैन। राम सरलाई उसले घाँटी रेटी रेटी मारेको सुन्दै मेरो आंग सरंग भएको थियो। लाश हेर्न जान आमा वुवाले दिनुभएन। वुवाले फर्किएर भन्नुभयो। चौतारीमा वसेर तिन जना राम सरकोमा जाने योजना वनाउँदै थिए अरे!तिनको टोलि नेता ध्वाँसे नै थियो अरे! म ध्वाँसेको रुन्चे अनुहार सम्झेर रात भरी निदाउन सकिन। दुई महिना अगाडी मात्र मलाई युद्दमा लाने भए भनेर ध्वाँसे अनुहार रुन्चे वनाउँदै थियो। दुई महिनामा नै उ रगत चाखेको वाघ जस्तो भयो।सपनामा मैले ध्वाँसेको अनुहारमा विस्तारै विस्तारै रगत पोखिएर रातो भएको देखेँ। मलाई अझै याद छ , म त्यो रात काल्लिएर उठेकी थिएँ।

त्यसको करिव एक महिना पछि बाले कतावाट ध्वाँसेको र मेरो सम्वन्धको सुइँको पाउनु भएछ। मेरै साथीहरुमध्ये कसैले नै हल्ला गरिदिए होलान्। मलाई कोठा थुनेर दुइ झापड लाउनु भयो। त्यसपछि मेरो पढाइ र मेरो भविष्यको वारेमा सम्झाउनु भयो । अनि मलाई एस एल सी सिद्दिने वित्तिकै काठमाण्डौ पठाउने कुरा भयो।ध्वाँसे विस्तारै मेरो अतित वन्यो।कतै कुनै कुनामा गुम्सियो। तर मलाई जति नै माया गरे पनि उ हत्यारा हो त्यो पनि त सत्य हो। म हत्याराकी पत्नी र मेरा छोरा छोरी हत्याराका छोराछोरी पक्कै पनि हुन सक्दैनन्।

ध्वाँसे सँगको सम्वन्धको वारेमा मैले वताउन खोज्दा अजयले भनेको थियो

 "तिम्रो अतित सँग मलाई मतलव छैन, तिम्रो वर्तमान मा कोहि छ भने भन म बिहा अझै रोक्न सक्छु"

अजय सँग विहा हुने समयमा ध्वाँसे गाउँ आएको छ भन्ने मैले सुइँको पाएको थिएँ । मेरो मन जोडले धड्किएको थियो।एउटा अनौठो डर लागेको थियो, मेरो विहा आएर विथोलिदियो भने।मैले अजय सँग मोवायलमा कल गरेरै त्यो कुरा भनेकी थिएँ। उसले सवै कुरा सुनेर मलाई सुस्तरी भन्यो।

"टेन्सन नलेउ, केटा मान्छे त्यस्तै हुन् !"

तर उ आएन, मेरो वोझ हट्यो। आज वानेश्वरको यो मोडमा उ भेट्टिएको छ। न उसलाई म नदेखे जस्तै गरेर हिँड्न सके, न उसका उत्तरहरु नै दिन सक्दैछु। म त जड भएकी छु अहिले।

"चिया खान भ्याउँछेस् ?"

उसको प्रश्न मैले नकार्न सकिन। प्रश्नहरु सहि गलत हुन सक्छन्, उत्तरहरु सहि गलत हुन सक्छन्, तर समय सहि गलत हुँदैन,क्षणहरु सहि गलत हुँदैनन् । म पनि समयसँगै वगिदिएँ।

*************** ************** *************** ****************** ***************

"कस्तो छ त तेरो नयाँ परिवार ?"

लामो समयको मौनता पछि उसले प्रश्न राख्यो।

"राम्रो छ !" मैले संक्षिप्त उत्तर फर्काएँ।

"छोराछोरी भए ?"

मैले छैन भन्ने जनाउन टाउको हल्लाएँ। उ आफ्नो चियामा लागेको तर हेरीरहेको थियो। कपको डण्डीमा आएर एउटा झिंगा वस्यो। उसले हातले झिंगा धपायो।झिँगा उडेर छेवैको मंगलवजारको कृष्णमन्दिर भएको फोटोमा वस्यो।

"म पनि कस्तो हुस्सु, विहे भएकै त छ महिना त हुँदैछ। कसरी होस् छोरा छोरी ?"

म चुपनै लागि राखेँ।

"मैले चुरोट खान मिल्छ यहाँ तेरो अगाडी ?"

मैले उसलाई एक चोटी चुरोट नखा भनेर गाली गरेकी थिएँ । उसले छोड्दिन्छु पनि भनेको थियो। छोडेको रहेनछ।मैले हुन्छ भन्ने आशयमा टाउको हल्लाएँ।

"आज नखा भन्दिनस् ?"

उसले मेरो आँखा मा पुलुक्क हेर्दै प्रश्न राख्यो। ध्वाँसेलाई वोल्न आउँदैन जस्तो लाग्थ्यो मलाई। तर नेता भएर वोल्न पनि सिकेछ।

"तँ मान्छस् त अझै मैले भनेको ?"

म खिस्स हाँसिदिएँ।

"भन्दै भनिनस् अव मान्ने नमान्ने त दोश्रो कुरा !" उसले सल्काउँदै जवाफ दियो। झ्याल तिर फर्केर धुवाँ उडायो। उसलाई थाहा छ मलाई चुरोटको धुवाँ मन पर्दैन भनेर !

"अनि के गर्छन् त तेरा वुढा ?"

"इन्जिनियर हो !" मैले सुस्तरी जवाफ फर्काएँ।

"पढेलेखेको मान्छे , हामी जस्तो नौ फेल हो र !" उसले चुरोट एशट्रे मा झोस्यो। कुनै पिडाले मन निभे जस्तै चुरोट पनि निभ्यो।

"तँ पनि काम गर्न थालिस कि के हो ?"

"प्राइभेट वेंकमा !"

"बाबा, अव कसले सक्ने , पैसा कहाँ राख्छौ अव ?हाम्रो पार्टीलाई चन्दा देओ थोरै !"

मन झसंग भयो। जिस्किँदैछ कि साँचै भन्दैछ ,छुट्याउन सकिन।

"नडरा नडरा जिस्केको मात्रै !"

"के थाहा तँ त जिस्की जिस्की घाँटी रेटिदिने मान्छे!!!" यसपालि मैले हिम्मत गरेरै वोलेँ । मलाई त्यो रातको सत्य जान्न मन छ।

उ चुप भयो। उसले मौन स्विकृती दिए जस्तै। आत्म समर्पण गरे जस्तै।

"त्यसपछि मैले तँलाई माया गर्न सकिन ध्वाँसे !" मैले भारी स्वरमा भनेँ।

"मेरो माया त कसले नै पो देख्छ र ! तँ पनि अरु जस्तै मेरो गल्ति नै खोजेर हिँड्ने नै त परिस् !"

"कति जनाको जिवन वर्वाद गरिस् थाहा छ तँलाई ! त्यो सरकी वुढीको पेटमा वच्चा थियो त्यतिखेर !"

"थाहा पाउँदा ढिलो भैसकेको थियो!"

ध्वाँसेले वाहिर टेम्पु गुडेको हेरिरह्यो। वाहिरको टेम्पुले ध्वाँसेको चुरोटवाट निस्केको भन्दा पनि कालो मुस्लो फ्याँक्यो।

"कहाँ छे त मास्टरकी वुढी अहिले ?" उसले आँट गरेरै प्रश्न सोध्यो।

"त्यो त मलाई पनि थाहा छैन।"

"मलाई त सँग भेट्न आउन मन थियो, तर विहामा भाँड भैलो होला भनेर गइन। तैँले जे गरिस् ठीकै गरिस् । म तेरो लायक थिइन!!" उसले अर्को चुरोट सल्कायो। उसको चुरोट को लत वढेछ। यति चाँडै अर्को चुरोट नथप्नु पर्ने हो।

"मैले भनेको मान्छस् दुइटा कुरा ?" मैले उसलाई हेर्दै भनेँ।

"भन न !"

"पहिलो एउटा राम्री केटी खोजेर विहे गर, अनि दोश्रो चुरोट छोडिदे !"

उ हाँस्यो, कुनै पिडा लुकाएर हाँसे जस्तो ।

"उठ ढिलो भए जस्तो छ, साँझ पर्न लाग्यो! "

उ जुरुक्क उठ्यो। वाहिर आकाश फेरि कालो भएछ। आज फेरि राती पानी पर्छ जस्तो छ। भोली फेरि विहान वाटो हिलो हुन्छ जस्तो छ।



 
Posted on 05-20-14 10:58 AM     [Snapshot: 259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


fucheketo , कथाका सबै भाग रमैलो मान्दै पडीराको छु / धन्यबाद तपाइलाई, येति मिठो कथा फोकड़मा पडन दिएकोमा/

खै यो माया पनि के हो, के हो? तेत्रो कथित महान जनयुध जितेर आको बहादुर सिपाहीलाई पनि पागलिदिने/

बुधलालले प्रस्न गर्या जस्तो ध्वासेको आगामी जीवन देवदास नै भएर चै बित्दैन होला /


 
Posted on 05-20-14 5:39 PM     [Snapshot: 366]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो यो त उपन्यास नै भयो ...धन्न खुराक समय समयमा आइ राख्या छ !! कहिलेकाही त plot नै बिर्साउनेगरि ढिला लेख्ने फुच्चे सरासर बढ्या छ ....धन्न होस् प्रभो !

अरु भाग पनि चाडै पढ्न पाउँ !!
 
Posted on 05-21-14 11:15 AM     [Snapshot: 421]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bachata and Bhaktedai thank you...अन्य पढिदिनुहुने ,लाइक गरिदिनुहुने सवै साथीहरुलाई धन्यवाद..


मेरो आत्मस्विकृती-२- ध्वाँसे

मेरो कथामा केहि नयाँ पात्र आएका छन्। कथा अघि वढेको छ। अँध्यारो यात्रामा निस्किएको मेरो कथा, मेरो राजनितिको सेरोफेरोमा घुम्दैछ।राजनिति मेरो इच्छाको विषयवस्तु थिएन।म त स्वभावैले प्रेमी मान्छे, प्रेम रस ले भरीएको। राजिनितिले त मेरो रस निचोर्यो जस्तो लाग्छ मलाई कहिलेकाहिँ।तर सोचेको जस्तो त कहाँ नै हुन्छ र जीवन?

काठमाण्डौमा तिनताका जाँड खानेवेलामा राम्रो साथि भएको थियो कान्छो। म मेरो सवै सुख दुख सुनाउँथे। साहिँली मगर्नी सँगको रमाइलो सुनाउँथे, शान्ती सँगको विछोड पनि सुनाउँथे। उ अलि लजाउँथ्यो केटीहरु सँग वोल्न मोरो। उसको वोली थोरै भकभके थियो। तर केटीहरुसँग वोल्नु पर्यो भने वढी नै भकभकाउने गर्थ्यो। शव्दहरु वाहिर निकाल्न उसले आँखा चिम्लिनु पर्थ्यो। तारिफ गर्ने वेलामा पनि कस्तो विडम्वना,जसको उ तारिफ गरिरहेको हुन्थ्यो आँखा चिम्लेर तारिफ गरिरहेको हुन्थ्यो। म कहिलेकाहिँ उसलाई जिस्काउँथे पनि  "तिमि राम्री छ्यौ भन्दा तँ मुला आँखा चिम्लेर भन्छस् !" अनि कसले पत्यार गरोस् । उ गम्भिर भएर जवाफ फर्काउँथ्यो

"दाइ राम्रो नराम्रो त भित्रको आँखाले हेर्ने हो नि त !"

"नापिस् !" मलाइ सनक चढेर आउँथ्यो।

धेरै पछि मैले एक दिन कान्छोलाई भेट्टाएँ। भेट्टाएँ के भनौँ वोलाएँ आइज जाँड खान भनेर। भट्टिवाल साहुनी पनि चिनेकै दिदी ! उनलाई पनि नभेटेको धेरै भएको थियो हामी फेरि पाटनमा भेट भयौँ। त्यो दिन कान्छोले शान्तीको विहेको कुरा सुनायो। मन अमिलो भएर आयो! उसले मलाई एक चोटी भेट्न पनि जरुरी ठानिन। मनले त्यत्तिनै खेर निश्चय पनि गर्यो । एक चोटी गएर भेट्छु गाउँमा। अर्को आवेग पनि सँगसँगै आयो ,सिद्याइदिन्छु त्यो केटालाई पनि !

तर जतिखेर म गाउँ छिरेँ।मेरो रिस सवै सेलाएर गयो।शान्ती खुशी नै थिई अरे! उसको विहामा गएर एउटा विद्रोहको इतिहाँस रच्ने योजना मैले परिवर्तन गरेँ। मैले त्यो दिन वरु सुतेरै विताएँ। मन भरी चियावारीका सम्झनाहरु डुलिरहे। जतिखेर उ मेरो छातिमा अडेस लाग्थी। जतिखेर म कपाल खेलाउने वहानाले उसको छातिसम्म हात पुर्याउँथे।जतिखेर उ रिसाउँथी। जतिखेर उसले मेरो निम्ती सुम्पिन चाहेकी थिई। जतिखेर म युद्दमा होमीनु पर्ने डरले डराएको थिएँ। उसका र मेरा सम्झनाका पोकाहरु एक एक गरेर खोलेर ढल्किरहेँ। ओछ्यान एक्लो थियो, शायद सम्झना पनि अव मेरो एक्लो नै होला। उसको त जीवनमा अरु नै कोहीले फूल वुट्टा भरिदिनेछ।

*************** ***************** **************** ******************* ******

चुनाव नजिकिँदै जाँदा मैले गाउँमा देखेँ,हामी पिडित पिछडिएकाको वकालत गरेर हिँडेका थियौँ। तर चुनाव त पुँजीको खेल। केहि पुँजीपति त हाम्रो हातमा हुनु जरुरी नै पनि त थियो।थापाकाजीलाई हाम्रो पाटोमा तान्न सके पार्टी वलियो हुने कुरा मैले केन्द्रमा राखेँ।त्यतिखेर तर्कहरु दुई खेमामा वाँडिए। अन्त्यमा पार्टीमा प्रवेश चाहनेहरुलाई प्रवेश गराउनै पर्ने पार्टीले निर्क्यौल निकाल्यो।

पार्टीको तर्फवाट चुनिएका उम्मेदवार "वुधे दाई" सँग मेरो सानै देखीको चिनजान थियो।ति दाइ र म पौडी खेल्न वगान कटेर  मेचीको पुल सम्म पुग्थ्यौँ।वुधे दाइ मलाई माछा मार्न पनि सिकाउँथे। पहिला गड्यौँला खोजेर ल्याउनै हैरान।जे होस् वुधे दाइलाई जिताउनै पर्ने वाध्यता। माछा मार्नलाई थापाकाजी नामको गड्यौँला त मैले भेला गरेकै थिएँ।चुनावमा म गौरवका साथ भन्छु वुधे दाई लाई जिताउनमा मेरो ठूलो हात छ। मैले हात समात्दै उनलाई भनेँ

"दाइ अव जनताको सम्विधान ल्याउनुपर्छ!" वुधे दाइको कालो कालो अनुहारमा अचम्मको लालिमा छायो, जितको लालिमा !तर छेउमा कोहि करायो "ल्यायौ हत्यारा हो जनताको सम्विधान !" केटाहरुले त्यो कराउने मान्छेलाई खोजेर ल्याए । वुढो खवटे ज्यान, केटाहरुले कुट्न आटेका थिए वुधे दाइले कुट्न भने दिएनन् । उ छोड्दिइ सकेपछि पनि अनेकथरी फलाक्दै थियो, जुन हाम्रो जितको नाराको अघि दवेर गयो।पछि थाहा भयो त्यो राम सरको काका रहेछ। खुइले सरको । म कहिलेकाहीँ सपनामा त्यो रात देख्छु, मेरो दाह्रा पलाएको हुन्छ त्यतिखेर , म कसैको खुन चुसीरहेको हुन्छु उसको घाँटीवाट रगत वगिरहेको हुन्छ। त्यो रातभर म निदाउन सक्दिन।

एकदिन वाटोमा हिँडिरहेको वेला शान्ती भेट्टिई। वोलाउँ नवोलाउँ को दोसाँधमा परेँ। वाटो पनि हिलो,हिलो भएको थियो। आँट गरेरै पछाडी वाट कोट्याएँ । चकित भएर उसले मलाई हेरी, मानौँ उ पहिलो चोटी मलाई देख्दै छे।वेक्कारमा वोलाएछु कि जस्तो पनि लाग्यो।हामीले त्यो दिन सँगै चिया पियौँ। त्यति नजिक उ भएर पनि कति टाढा छे अहिले जस्तो लाग्यो।उट्पट्यांग कुरा हरु पनि सोधेँ।विहे भएको छ महिनामा नै छोराछोरी कति छन् भनेर सोधेँ। मन ठेगानमै रहेन। तर उ खुशी थिइ जस्तो लाग्यो।खोइ किन किन त्यो दिन मलाई उ आफ्नो शान्ती जस्तो लागिन। अरु नै कोहि जो मेरी शान्ती जस्तो देखिन्थी मात्र त्यस्तो केटिसँग समय विताइरहे जस्तो लाग्यो।

म वाहिर निस्केँ । वाहिर सिमसिम पानी परिनै राखेको थियो।उ सँग छाता थियो, ओढेर हिँडी । म भिजि नै राखेँ एक छिन। भित्र भतभत पोलेजस्तो भएको थियो। उ भिँडमा हराएकी थिई कतै। काठमाण्डौ मान्छे निल्ने शहर हो। हजारौँ इच्छा ,सपना निलिदिन्छ। आज मेरो आँशु निल्दै थियो।कान्छोको फोन डायल गरेँ, त्यो दिन इंगेज थियो।मोरोले त्यो दिन भने मेरो साथ दिएन।

हो म उसको लायक छैन।म त न भुत न भविष्य भएको मान्छे। तर उसले सोचेजस्तो हत्यारा म हैन। मेरो पनि मुटु छ। मलाई पनि त्यो हत्याले मन दुखाएकै थियो।युद्दमा गल्ती त जहिँ तहिँ हुन्छ।तर योद्दाहरु योद्दै रहन्छन् हत्यारा कहलिन्नन्।

 



 
Posted on 05-21-14 11:33 AM     [Snapshot: 422]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gajjab fuchhe -

Nice read
 
Posted on 05-21-14 11:51 AM     [Snapshot: 438]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial thank you,
Thanks to fuel tank,bachata ,bhakte dai and all the readers who read Dhwase till now, liked it till now, This is the end of second chapter. Third Chapter will be probably the last one, and I ll soon start working on it. मैले यो कथाको प्रत्येक अध्याय कमेन्ट गर्ने, लाइक गर्ने र पढिदिने साझावासीलाई धन्यवाद दिएर शुरु गरेको थिएँ। तर यो साझाको कुरा कहिलेकाहिँ मलाई अचम्म लाग्छ, कहिले के समस्या आउँछ ,कहिले के.. अहिले मात्र कथा देखिने समस्या आइराखेको छ। (May be because I wrote something then copied story, now only copied text is seen here)...
Bhakte dai put one interesting comment that I was writing this story on a regular basis, दाइ मलाई यो कथाको भित्र आफु नै छु कि जस्तो लाग्न थालेको छ ,विस्तारै विस्तारै! may be that is the reason why i m writing this story regularly, if my time and my internet permits I ll keep on writing it regularly . I have few more charecters in mind to move the story forward.
Btw Anyone who knows a good publisher,wants to see dhwase published and can help me ? if yes please message me .
thanks to sajha again for providing me platform,to try something new,
 
Posted on 05-21-14 12:06 PM     [Snapshot: 447]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wonderful writing, very captivating. Movie hereko jasto.
 
Posted on 05-21-14 12:36 PM     [Snapshot: 451]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuche, You made story your own by the end. I would love if someone made this into movie someday. And please send me a message if you ever publish a book. I will be first one to buy it. :)
 
Posted on 05-21-14 1:10 PM     [Snapshot: 487]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I will buy Dwaase novel if it ever gets published.

Will comment after reading the latest part.
Last edited: 21-May-14 01:11 PM

 
Posted on 05-21-14 3:52 PM     [Snapshot: 532]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I do not read much novel. But this could be one of the best novel/movie of all time. You just need right director and right person to narrate it. Well if this movie comes, I promise I will buy the ticket to watch it. Even if u publish the book, I will buy it. :)
Waiting for more to come.
 
Posted on 05-21-14 8:53 PM     [Snapshot: 575]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchheketo dai, chupchaap nai padhirakhya thiye, silent reader bhanchan kyare aangrazi ma, aja chai naboli basnai sakina..aauta filim po banaunu parcha kya ho dai....mangalbazar tira chiya khadai yo bisaya ma alik lamai chalfaal jaroorie dekhe..gajaab fimim bancha dai Dhwase..lau na kehi garum!!!!
 
Posted on 05-22-14 5:56 AM     [Snapshot: 625]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे साथि ,

तिम्रो अर्को किताब को बिमोचन मा उपस्थिति जनाउञ्छु भनेको थिएँ हुन सकेन ...... अब येही किताबको बिमोचन मा चै आउनु पर्ला जस्तो लग्यो मलाई...

अघि देखि पढी बसेको थिएँ केहि नबोली ...... शब्द भेटे पो बोल्नु .... अहा कस्तो लेख्न जान्ने भनेर कति भन्नु तिमीलाई .... यो थानेलाइ त प्रसंसा नै गर्न आउदैन भन्लाउ फेरी..... तर मित्र तिम्रो लेख ले साझाको बगैंचा मग्मगायेकै छ ..... तिम्रो सृजनशीलताको बास्नाको रसास्वादन गर्न पाउनु भाग्य नै हो मेरो ....

तिम्रो यो ध्वाँसे मैले सुरुमा जस्तो सोचेको थिएँ आखिर तेस्तै निस्कियो ..... मायालाग्दो ..... एउटा गीतको सम्झना गराउँछ उसको स्थितिले सधैं ......प्रतीक्षा गर मेरी मायालु समयले मानिसलाइ कहाँ कहाँ पुर्याउँछ ....
बिचरो रुमल्लिरहेछ अमिलो अतित र पतित समयको जालमा ...... अन्तिम खण्ड पढ्ने रहर बाँकी ....

-थाने
 
Posted on 05-22-14 10:04 AM     [Snapshot: 673]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you Spring,Bhakte dai,Gone crazy and thaney
Ilam 2008- sorry couldnt make it today, but lets arrange mangalbazaar meeting this weekend ;)
and thanks to all the readers who read Dhwase till now , liked it till now.
 
Posted on 05-22-14 10:05 AM     [Snapshot: 674]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

कुखुरापालन- अष्ट धिमाल

चुनाव जितुन्जेल हाम्रो पार्टीले जितेको जस्तो लागेको थियो। हामी व्यारेकमै भए पनि ठूलो खुशियाली मनाएका थियौँ।तर युद्द सोझो तालले जितिन्छ, युद्दले उन्माद ल्याए पनि मान्छे वांगिदैनन्, चुनाव त नागवेली चाल चल्छ जस्तो सुकै प्रष्टवक्तालाई पनि कुरा चवाउने वनाउँछ,आनाकानीको भाषा सिकाउँछ।यो चुनाव पनि पृथक भएन। उहि पुरानो चुनाव ,मात्र नयाँ खोल ओढेकाले जिते।

कहिलेकाहिँ खडेरी लागेको जीवनमा पानीका थोपाहरु हराउँछन् भुइँ रसाउन नपाइ। क्रान्ती मेरो लागि त्यहि पानीको थोपा जस्तै। जीवनमा आउन नपाइ, जीवन रसाउन नपाइ कहाँ हरायो कहाँ त्यो पानीको थोपो।कहिले मैले चिरा परेका भुईँमा आँखा लगाएँ,कहिले वादलै नभएको आँकाशमा तर मेरो आँखालाई माया गरेर न वादल देखियो आकाशमा न भुईँका चिरा मेटिए।

आर्मीले केहि नगरी खुव कुटपिट गर्यो मलाई, मरणासन्न पारेर मर्यो भनेर छोडेको हो तिनीहरुले। मेरो भाग्य वलियो म वाँचे।मेरी वहिनी जुन केटासँग भागेकी थिई त्यो त्यतिखेर युद्द मा लाग्यो अरे तिनीहरुको वारेमा वुझ्न आएका थिए।मलाई थाहा थिएन, मलाई थाहा छैन नै भने। उनीहरुले पत्याएनन्। मेरी आमा कराइरहिन,उनीहरु लात्तले वुट वजारिरहे।थिलथिलो भएको जिउ सुम्सुम्याउन भोलिपल्ट ध्वाँसे मेरो घरमा आइपुग्यो। ध्वाँसे र म स्कुलमा सँगै थियौँ। उ पनि युद्दमा लागेको मैले थाहा पाइसकेको थिएँ।

"अव के हेरेर वस्छस् ? आज हिँडिनस् भने भोली पनि आउँछन् भकुर्छन् ! जव सम्म हामी वरावर शक्तीको हुन्नौ उनीहरु दबाइरन्छन् हामलाई !" उसले छेउमा राखेको माटोको गाग्रीको पानी सारेर खाँदै भन्यो।म धेरै वेर मौन नै वसिरहेँ। ध्वाँसेको कुरा सामान्यतय स्कुलमा पनि नाइँ भन्दिनथेँ। उ स्कुलमा पनि हिरो जस्तो थियो।मैले आफ्नो शरिर भरीका निलडाम हेरेँ, त्यो आर्मीको सम्झना आयो अनि किन किन जोश वढेर आयो।त्यहि रात म ध्वाँसे सँग हिँडे आफ्ना दुई जोर लुगा वोकेर।

उनीहरु सँग डक्टर पनि रहेछन्। मलाई शुरुमा उपचार गरेर राखियो। अनि त्यसपछि म सैन्य दस्तामा समावेश भएँ। हाम्रा सुराकीहरु आर्मी भित्र पनि थिए।मलाई कुट्ने मेजरको आमा मरेर किरियामा उसको घर रामेछाप जान आटेको हामीले थाहा पायौँ।उ वसमा घर जाँदै थियो। हामीले गाडी वाटैमा रोकेर उसलाई लिएर आयौँ, हाम्रा साथीहरुको सहायतामा । उसलाई जंगलमै सिध्याएर गाडीसकेपछि म धेरै वेर रोएँ। मान्छे सँग जत्ति रिस उठे पनि उसलाई सिध्याइसकेपछि भने त्यो लाशको माया लाग्दो रहेछ।त्यो मेजरको लाश उठेर मलाई वुट वजार्ला जस्तो थिएन। त्यो त ढलेको थियो, निन्द्रा मा भए जस्तो ! रगतमा लतपतिएको, माया लाग्दो!!

हामी शान्ती प्रकृयामा आएपछि हामीलाई व्यारेकमा राखियो। सुत्ली वम वनाउने वेलामा मेरो एउटा हात उडेको थियो। म छनौटमा परिन। मलाई केहि पैसा थमाएर गाउँ पठाए।त्यसपछि के गर्ने म अलमलिएको थिएँ।कसैले मलाई सल्लाह दियो "अव कुखुरापालन गर " भनेर ! कुखुरापालन मा फाइदा त थियो तर वर्डफ्लुको रिस्क पनि ! जे होस् मैले गाउँमै एउटा पोल्ट्री खोल्ने निधो गरेँ।आएको पैसा अपुग थियो, जग्गा थिएन धितो राख्नलाई।मैले ध्वाँसेलाई सम्झेँ । वुध दाई मन्त्री भएको छ, ध्वाँसे काठमाण्डौ मैँ छ पक्कै केहि सहायता हुन सक्छ।

*************** *************** *********** ***************** *******************

"कति नम्वर चेन्ज गर्छस् हौ, पत्ता लाउन पनि गाह्रो !" मैले उसलाई भेट्टाउने वित्तिकै गुनासो पोखेँ।

"मान्छेको जिन्दगि चेन्ज भइसक्यो तँ नम्वरको कुरा गर्छस् !" उसले चुरोट उडायो। ध्वाँसे पहिला त्यति साह्रो चुरोट पिउँदैन थियो। तर आजकल धेरै नै पिउन थालेको रहेछन। हुन त उसलाई अलि वढी नै टेन्सन होला। पार्टीको,तरुनीको अनि अरु धेरै !

"के चेन्ज भो र ?"

"भो छोड्दे यी कुरा ,अनि किन आइस् त यो धुलो खानलाई काठमाण्डौ !"

"केहि काम शुरु गरौँ भन्ने विचारमा थिएँ ,पैसै पुगेन !" मैले चियाको टेवलको रंग कोट्याउँदै जवाफ दिएँ।त्यो टेवल शुरुमा निलो हुनुपर्छ । तर अहिले काठको रंग देखिन थालेको छ भित्रको! निलो त मात्र ठाउँ ठाउँमा थियो।कुनै चुहिने छाना भएको गरिवको धुरी जस्तो देखिएको थियो।

"साँची पैसा पुगेन भन्दा पो सम्झेँ ,पार्टीले तिमीहरुलाई पनि चिलेछ नि हैन ? कति वुझाइस पाएको पैसा मध्ये ?"

"भनेको भन्दा आधा मात्रै दिए नी, पार्टी शसक्तिकरणलाई चाहिन्छ भनेर !" मेरो अनुहार अचानक कालो भयो।त्यो पुरा दिएको भए त पोल्ट्रि फर्मलाई रिन नै त खोज्नु पर्दैन थियो।

"क्रान्तीकारी पार्टीभित्र सामन्ती जन्मे वुझिस् ?" उसले चिया सुरुप्प पार्दै भन्यो। आजकल उ ठूल्ठुला कुरा गर्छ ।ठूला मान्छेको संगतले होला।"अनि के मसँग पैसा खोजेको तैँले ?" उसले मेरो अनुहार हेरेर हाँस्दै भन्यो।

"हैन वुधे दाइ सँग भेट्टाइदिन्छस् कि भन्ने सोचेको ! उनकै पार्टीको मान्छे सहयोग गर्लान नि !"

ध्वाँसे एक छिन चुप भयो । वाहिर हेर्यो। मैले उसले वाहिर के हेर्दैछ भनेर हेरेँ। कलेजका ठिटाठिटी इत्तरिरहेका। करिव अठार पुगेको केटो चुरोट उडाइरहेको ,अनि शायद सत्र पुगेकी केटीलाई चुरोट फुक्न सिकाउँदै । गएर गाली गरुम् कि जस्तो लाग्यो। हाम्रै गाउँका भए त दुई झापड नै लगाइदिन्थेँ ।तर शहर पर्यो ।आफ्नो रिस दवाएँ। आफुलाई आफ्नै टेन्सन छ।

"राजनिति, नेता तैँले वाहिरवाट जस्तो देख्छस् त्यति सजिलो कहाँ हुन्छ र ?" उसले अलि घुमाउरो भाषामा मलाई नाइ भनेको हो त्यो त !

"एक चोटी भेटाउन पनि सक्दैनस् त ?"

"सक्न त सक्छु तर ...."

"तर के ? तेरो यति सानो देखिको साथिलाई त्यति पनि गर्दिन्नस् ?" मलाई झोक चलेर आयो। एउटै पार्टीको भनेर उसले काम नगरोस् तर उसको त म सानै देखिको साथि। किन आनाकानी? मलाई पनि थाहा छ, मैले खोजे जति पैसा उसँग छैन। न मैले उ वाट खोजेको हो। त्यहि भएर त म वुधे दाइलाई भेट्न खोज्दैछु।

"मैले तँलाई लिएर गएँ भने उनले काम नगर्दिन सक्छन्, उनको र मेरो अहिले राम्रो छैन। अरु नै कोही मान्छे पक्डी न !"

म चुप भएँ। उसले वहाना वनाएको वा साँचै भनेको छुट्याउन गाह्रो भयो।

"के भयो र तेरो र वुध दाइको विचमा ?"

"पार्टी टुक्रिदैछ, म शायद अर्को तिर जान्छु होला, वहाँहरुको खेमा क्रान्तिकारी रहेन, देश वेच्ने सम्झौता गरे उनीहरुले, ढोंग भयो संविधानको नाममा धेरै !"

उसले चिया टुंगियो। म उसको र बुधदाइको सम्वन्ध विग्रेकोमा दुखी हौँ की। आफ्नो काम नबनेकोमा । पक्कै पनि मेरो काम मेरो पहिलो प्राथमिकता हो ! उ सँग केहि त उपाय होला, यति जानेको मान्छे!

"केहि उपाय छ त मन्त्री सँग भेट्ने ?"

"तँ यसो गर, थापाकाजी चिन्छस्? हाम्रो गाउँको ?"

"को त्यो पन्चे ?" मैले अचम्म मानेँ

"त्यो पन्चे कहाँ रह्यो र हामीले चुनावको बेला पार्टी प्रवेश गराएको विर्सिस ?"

"अँ ,चिन्छु !"

"कोटेश्वरमा बस्छ गएर भेट , ला उसको नम्वर !" उसले मोबायलवाट एउटा कागजमा नम्वर टिपिदियो। मैले त्यो कागजलाई रुमाल जस्तो जतन गरेर पट्याएँ ।अनि गोजीमा राखेँ।



 
Posted on 05-22-14 10:07 AM     [Snapshot: 677]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ध्वाँसे दाइ सँग मेरी सरिताको कुरा – कान्छो

"तँ मुला, मेरो अलि बोली विक्न छोड्यो भन्ने वित्तिकै फोनै नउठाउने !" ध्वाँसे दाइको रिस गज्जपको छ। माया गरेको वेला ज्यान छोडेर माया गर्छन् ,रिसाएको वेला हात छोडेर रिसाइदिन्छन् । झापड खाइएला भन्ने डर थियो भेट हुँदा झन्न फोनवाटै आवाज आएकोले झापड नै चाहिँ खाइएन।

"हैन के दाइ , नम्वर चेन्ज गरिराख्नु हुन्छ ,कुन नम्वर तँपाइको म कसरी पत्ता लाउनु भन्नु त ?" मैले मेरो स्पष्टिकरण दिएँ।

"मुला खुरुक्क न वेलुका भेट , त्यहाँ पाटनमा ! सँधैको ठाउँमा !"

"भरे त अलिकति काम छ दाइ !" मैले सुस्तरी जवाफ दिएँ। मलाई थाहा छ ध्वाँसे दाइ लाई नाइ मन पर्दैन । तर भरे त सरितासँग भेट्ने कुरा भएको छ।सरिता पनि त रिसाउन सक्छे।

"तँ त्यहिँ शंखमुलमा वस्ने हैन, काटेर पुलमुनी फाल्दिन्छु तँलाई आइनस् भने !" ध्वाँसे दाइले मैले केहि वोल्न नपाइ फोन राखे। कस्तो खरो रिस, कस्तो रुखो वोली,म अलमल्लमा परेँ। ध्वाँसे दाइ त ओखर हो, साह्रो ,फोर्नलाई गाह्रो तर नजिकिए पछि भने असाध्यै मिठो।ध्वाँसे दाइ भन्दा बरु सरितालाई नै फकाउन सजिलो होला जस्तो लाग्यो। मोबायलवाट एसएमएस पठाएँ

"आज आउन भ्याइन, काम पर्यो !"

 उताबाट रिप्लाइ आयो "जे सुकै गर, पैसा जोडेर लिन्छु महिनाको लास्टमा !"

************** ************** ***************** *************** *********** *****

पाटनका गल्लीहरुसँग हाम्रो अनौठो सम्वन्ध छ। त्यहाँको त्यो देवीको मन्दिर म कहिल्यै देव्रे कट्दिन। एकदिन झुक्किएर देव्रे कटेको त्यहि दिन पुलिसले लखेट्यो। हामी पर्चा सर्चा सवै छोडेर भाग्यौँ। पाटन क्याम्पसको वाल नाघेर भागेपछि मात्र वल्ल अलि सास आयो। ध्वाँसे दाइलाई त्यति खेर मैले भनेको थिएँ

"दाइ आज त्यो देवीको मन्दिर देव्रे कटिएछ , त्यहि भएर अनिष्ट आको !"

ध्वाँसे दाइले आफ्नै भाषामा जवाफ फर्काए

"नापो तेरो देवीको मन्दिरले, भोली फनफनी तिन फन्को उल्टो घुम्दिन्छु के हुन्छ हेरौँला।"

म फेरि वोल्नु भन्दा चुप नै वसेँ।

***************** ****************** ********************* **********************

"के हो खुब बिजी छस् त आजकल !" ध्वाँसे दाइको रिस मरेको थिएन भेट्दा !

"त्यस्तो हैन दाइ !"

"के हो त ? मुला कि केटीको चक्करमा परिस् ?"

म केहि बोलिन। यो चक्कर त हैन पक्कै । यो त व्यापार हो।

"गाह्रो हुन्छ है परेपछि छुटाउन केटा ,होश गर , लडेकै मान्छेले वोलेको हो !" मलाई थाहा छ ध्वाँसे दाइ मायामा लडेका मान्छे हुन्।

"साँची अहिले याद आउँछ कि आउँदैन दाइ ?"

"कस्को ? शान्तीको ! भेट भको थियो एक महिना जति अघि !"

"अनि गफ पनि भयो ?"

"अरु त के गर्न सकिन्छ र , अव दुई वर्ष पछि भेट हुँदा भान्जा भान्जीलाई आइसक्रिम खुवाउनुपर्छ !" ध्वाँसे दाइले नमिठो गरेर घुट्क्याए रक्सीको सुर्को।

"कस्तो कडा !"

उनले साहुनी तिर हेरेर भने। "आगो वल्यो भित्र "

"मुटु जलेको होला भाइ, रक्सीले हैन होला !" साहुनि दिदी खितित्त हाँसिन्।दाइले जवाफ फर्काएनन्।

*************** ****************** ******************* ************** ***********

"अनि को हो त केटी ?"

"छे दाइ सरिता भन्ने !"

"काँ कि ?"

"सिन्धुपाल्चोक !"

"हैन कसरी ताकिस् हौ सिन्धुपाल्चोक की ,पुर्वको मान्छेले !" ध्वाँसे दाइ अचम्ममा परेँ।

"त्यस्तो केहि हैन दाइ !"

"कस्तो हो त?"

"पैसा तिरेर हो दाइ !" मैले सुस्तरी भनेँ।

"थुक्क मोरा, के के न होला भनेको,गन्हाउने बोको सँग केहि लाग्छ ? सारा नशा गायव ! म त अर्को पनि म जस्तै देवदास हुने भयो भनेर डर पनि लागेको थियो!" ध्वाँसे दाइले फेरि एक घुट्को लगाए

"ठिकै रैछ दिदी, मुटु नै जलेको रहेछ, यसपाली अघिको जति पोलेन !" दाइ साहुनी तिर हेरेर खिस्स हाँसे।अनि म तिर हेरेर भने

"तँलाई थाहा छ ,यी दिदीलाइ देख्ने वित्तिकै मलाई कसैको सम्झना आउँछ!"

"मलाई थाहा छ दाइ !" मैले त्यो कथा फेरि सुन्न चाहिन। कति सुन्नु एउटै कथा ,भट्टिमा आएपिछे।

"त्यसो भए त ठिकै छ ! तर कान्छा आखिर उसलाई पनि रमाइलो तँलाई पनि रमाइलो ! के खान पैसा तिर्छस् त ?"

"हेर्दा नै तिरुम् तिरुम् लाग्छ दाइ !"

"वाहिरको प्याकिंग न हो भाइ फरक , सामान त उहि खासाको ! जतन गरे चल्ने ,नभए विग्रीजाने !" यसपाली ध्वाँसेदाइ जोडले हाँसे। मानौ आइमाइहरुलाई होच्याएर उनी मज्जा लिइराखेका छन्।

"हैन दाइ ,सरिता अरु भन्दा फरक छे !" मैले सुस्तरी जवाफ फर्काएँ।

"के मानेमा ?"

"खै एक दम गम्भिर लाग्छे मलाई !"

"दिदी एउटा चुरोट दिनु त !" "नचाहिने के को गम्भिर हो यो फेरि ? "

"खोइ त्यो चाहिँ थाहा छैन दाइ !"

"एउटा कुरा सोधौँ ?" ध्वाँसे दाइ मेरो नजिकै आए।

"सोध्नु न !"

"तैँले साह्रै गफ लगाइस् , म पनि हेर्नु पर्यो कस्ती रैछे सरिता , म गएँ भने तँ रिसाउन त रिसाउँदिनस् नी !"

यसपाली भने मलाई थोरै विझ्यो। मलाई थाहा छ ,यो माया हैन, तै पनि पिडा दियो यसले।झलक्क सरितालाई सम्झेँ । हुन त म नगएको दिन पनि उ एक्लै त वस्दिन।ध्वाँसे दाइ जाँदा के नै फरक पर्छ र ?

"भो त रिसाइस् जस्तो छ ! तेरो गुडिया सँगै तैँ खेल, मलाइ चाहीँदैन पैसा पर्ने खेलौना !"

"हैन दाइ नम्वर खोज्दैछु!" मैले उसको नम्वर हेर्दै दाइलाई जवाफ फर्काएँ।

 

 

 

 

 

 

 

 

 



 
Posted on 05-22-14 10:46 AM     [Snapshot: 690]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oops I missed juggy, sorry nearly forgot my first novel buyer ;)thanks a lot ,if I ever publish a novel ,for sure will text you.
 
Posted on 05-23-14 1:45 PM     [Snapshot: 786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to all the readers who read Dhwase and liked it till now, Next Part is the last one of Dhwase. I am ending this story(Novel??) ..special thanks to Fuel tank ..who corrected me in some portions(I ll take your suggestions if i ever publish this )
some regular readers of Dhwase.. bhaktedai, thaney,serial, bachata,ramronepal,akinchan and Few more sajha friends .who are silent readers ..I know you are reading silently my stories and smiling....
This month was kinda holiday month for me, I enjoyed it a lot with Dhwase(Did not know that one month will create (Dhwase )..But when I started writing ..It turned out to be a joyful ride.
There are few charecters which I took from my real life,I would also like to thank them..
and one again to sir Nayan Raj Pandey ..whose लु brought the idea to make Dhwase..



 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters